वि.सं. २०३१ साल भाद्र १ गते बाली प्रर्दशनको माध्यमले कृषकहरुलाई जागरुक गर्ने र विभिन्न बालीहरुको उन्नत बीउ उत्पादन गरी कृषकहरुलाई स्वस्थ बीउबिजन बिक्री वितरण गरी कृषि उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले सिन्धुली कृषि फार्मको रुपमा यस केन्द्रको विधिवत स्थापना भएको हो । आर्थिक वर्ष २०३८/०३९ देखि यसका कृयाकलापहरु बाली प्रदर्शन र वीउ उत्पादनमा मात्र सिमित नरही सुन्तला जात फलफूलको एक प्रमुख बाली जुनार खेती सिन्धुली र रामेछाप जिल्लाको अधिकांश भू- भागमा विकास र विस्तार गर्न सक्ने संभावनालाई ध्यान दिई फार्म भित्र र निजी क्षेत्रमा गुणस्तरिय विरुवा उत्पादन गरी विरुवाको माँग आपूर्ति गर्ने र जुनार खेती सम्बन्धी अन्य प्राविधिक सेवा पु¥याउने महत्वपूर्ण काम पनि यस केन्द्रको कार्य क्षेत्र भित्र थपियो । यस क्षेत्रमा बागवानीको समग्र विकासको अपरिहार्यतालाई महसूस गरी वि.सं. २०४७ सालमा यसको नाम कृषि फार्मबाट बागवानी फार्ममा नामाकरण गरियो र सोही लक्ष्य अनुरुप कार्यक्रमहरु सञ्चालन गरी बागवानीको सर्वतोमुखी विकासमा संलग्न रही आएकोमा वि.सं. २०५२ साल देखी यसको नाम बागवानी केन्द्र सिन्धुली रहन गयो। आ.ब.२०६०/०६१ देखि  कन्दमूल बालीहरुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ यसको नामाकरण कन्दमुल तरकारी विकास केन्द्र  भई संघिय  कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभाग मातहत रही कन्दमूल तरकारी बालीको संकलन, सम्वर्द्धन र परीक्षण कार्य सञ्चालन गर्दै आइरहेकोमा वर्तमान संङ्घीय शासन प्रणाली अनुसार आ.व. २०७५/०७६ देखि बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विकास निर्देशनालय अन्तर्गत सञ्चालित रहेको छ। साथै वि.सं. २०८० मङ्सिर देखि बागवानी विकास केन्द्र, सिन्धुली नामाकरण भई विभिन्न बागवानी बालीहरुको प्रशारण सामग्री उत्पादन र प्रविधि प्रसारको काम गर्दै आईरहेको छ।